Pages

Monday, May 27, 2013

यसरी भएको थियो कृष्ण सेनको हत्या

पर्शुराम काफ्ले

krishna-sen-ichchhuk-nepal-
महेन्द्र पुलिस क्लब, जुडो हलछेउको माथिल्लो घरको पहिलो तल्लाको भिआइपी कोठा । २०५९ जेठ १३ को बिहान ११ बजेको छ । डोरीले पछाडी हात बाँधेर बन्दीलाई लडाइएको छ । उनी वरिपरि बर्दी पोसाकका चारजना उभिएका छन् । यातना सहन नसकेर बान्ता गरिरहेका बन्दी पानी
मागिरहेका छन् । तर बर्दीधारी उनको चीत्कार सुनेर हाँसोको फोहोरा छुटाइरहेका छन् ।
‘ए सेन, भन यो देश कसको हो ?’, बर्दीधारीका नायकको प्रश्न भुइँमा नखस्दै बन्दीको जवाफ आयो, ‘देश नेपाली जनताको हो ।’ ‘जनताको भन्छस् ? यो राजाको देश हो । यो ठकुरीको देश हो । राजाको भन् राजाको……’, कैदीको निधारमा मुक्का हान्दै बन्दी नायक भन्छन्, ‘साला…. तँ पनि ठकुरी, ज्ञानेन्द्र पनि ठकुरी, म पनि ठकुरी । देश बनाउने ठकुरीका बिरुद्ध लाग्ने ?’ बर्दीधारीको मुक्कासँगै बुट र लाठी बज्रिरहँदा बन्दीको प्राणन्त हुन्छ ।
पाठकवृन्द यो कुनै काल्पिनिक नाटक होइन । २०५९ जेठ १३ गते बिहान ११ बजेतिर मारिएका पत्रकार कृष्ण सेन इच्छुक र नेपाल प्रहरीका तत्कालीन डिआइजी अमरसिंह शाहबीच १० मिनेटअघि भएको कुराकानी हो । नयाँ पौडीपोखरी छेउमा रहेको महेन्द्र पुलिस क्लब एक तल्लामाथिको सोही कोठामा पत्रकार सेन प्रहरीको चरम यातनाबाट मारिएका थिए ।
६ जेठमा काठमाडौंको नयाँ बानेश्वरबाट समातिएका उनलाई एक सातासम्म चरम यातनाका साथ महेन्द्र पुलिस क्लबमा राखिएको थियो । ७ जेठ राति २ बजेसम्म सेनलाई देख्ने पत्रकार संगीता खड्का भन्छिन्, ‘चरम यातनाका कारण उहाँले बान्ता गर्न थालिसक्नुभएको थियो । राति १० बजेदेखि यातना दिन सुरु भएको थियो । यातनाका क्रममा हातखुट्टा भाँचिइसकेका थिए ।’ संगीताका अनुसार त्यस्तो बेला पनि दुईजना प्रहरी लगाई जबर्जस्ती भित्तामा अड्याएर बुटले हान्दै थिए डिएसपी बिक्रम थापा । त्यसको एक साता नबित्दै पत्रकार सेनको प्राणपखेरु उडेको थियो । हत्यालगत्तै सेनको शवलाई बोरामा हालेर लगिएको थियो ।
त्यतिबेला महेन्द्र पुलिस क्लबमै रहेका जनदिशा दैनिकका तत्कालीन संवाददाता भरत सिग्देलका अनुसार ७ जेठमा सेनलाई प्रहरीले राजाको बखानमा बोल्न लगाएको थियो । ‘ल भन् सेन, यो देशको माया कसलाई छ ?’, प्रहरी अधिकृतको जवाफ सेनले यसरी दिए, ‘यो देशको माया सबै नेपालीलाई छ ।’
सिग्देलका अनुसार त्यसपछि प्रहरी अधिकृतले सेनमाथि खन्निँदै भने, ‘यो देशको माया तेरो बाउ प्रचण्ड, बाबुराम, बादललाई पनि छैन । शेरबहादुर, गिरिजालाई पनि छैन । यो देशको माया ज्ञानेन्द्रलाई मात्र छ । बुझिराख् यो देश ठकुरीले बनाएको हो ।’ प्रहरी अधिकृतले यतिसम्म भनेका थिए, ‘म पनि ठकुरी तँ पनि ठकुरी होस् । तेरो दिमागमा प्रचण्ड, बाबुरामले गोबर भरिदिएका छन् ।’
आफुलाई ठकुरी बताउने ति प्रहरी अधिकृत थिए प्रहरीका हालका एआइजी अमरसिंह शाह । शाहले सेनलाई अन्तिम प्रश्न राखेका थिए, ‘यो देशमा सेना परिचालन हुँदैछ, अमेरिकी सेना नेपाल आउँछ, त्यतिबेला तँ कहाँ हुन्छस् थाहा छ ?’ सेनको जवाफ आयो, ‘म जहाँ रहेपनि नेपालमै हुन्छु ।’ त्यसपछि शाहले आक्रामक हुँदै भने, ‘साला, तँ माटोमुनी हुन्छस् । म श्री ५ को बफादार सिपाही हुँ, बुझिराख्, त्यतिबेला प्रचण्ड, बाबुरामपनि माटोमुनी हुन्छन्, गिरिजा र शेरबहादुर पनि जेलमा हुनेछन् । स्मरणीय छ, त्यतिबेला शेरबहादुर प्रधानमन्त्री थिए ।
समाचार श्रोतका अनुसार १३ जेठमा सेनको शव बोरामा पोको पारेर महेन्द्र पुलिस क्लबमा राखियो र सरकारी नम्बर प्लेट परिवर्तन गरी रातो बनाइएको बा १ च ६०७१ नम्बरको सेतो रंगको हाइलक्स पिकअप भ्यानमा हालेर क्लबबाहिर निकालियो । सई, असई सम्मिलित एउटा टोलीले १३ गते राति सेनको शव आर्यघाटमा लगेर गुपचुप रुपमा जलाइएको थियो । तत्कालीन डिआइजी शाहले आफ्ना सहपाठीहरुसित भनेका थिए, ‘ख्यालख्यालमै स्विट एण्ड सावर (गुलियो र अमिलो) गर्दागर्दै कृष्ण सेन त माथि पुग्यो ।’
तर, सरकारले गोकर्णको जंगलमा भएको दोहोरो भिडन्तमा सेन मारिएको सूचना जारी गरेको थियो । सूचनामा कृष्ण सेनको नाम त थिएन, तर उनको हुलिया दिएर संकेत गरिएको थियो ।
पहिलो संकटकालको उत्तरार्धमा भएको हत्याका बारेमा तत्कालीन सरकारले त मुख खोलेन नै हालसम्म पनि हत्याको खोजीनीति भएको छैन । उनको हत्यामा मुछिएका व्यक्ति नेपाल प्रहरीका उपल्लो र निर्णायक स्तरमा छन् । हत्यामा आरोपित प्रहरी यतिबेला मुख खोल्न चाहँदैनन् । प्रहरीका उपत्यका हेर्ने तत्कालीन डिआइजी अमरसिंह शाह सेन हत्यामा आफू संलग्न नभएको तर्क गर्छन् । ‘त्यतिबेला यस्ता सबै काम युनिफाइड कमान्डको नेतृत्व गर्ने निकाय (सेना) को हुन्थ्यो । हामीलाई सरोकार हुँदैनथ्यो’, कृष्ण सेन समातिएका बारेमा पनि आफुलाई थाहा नभएको भन्दै उनी पन्छिन खोजे । ‘पक्राउ गर्ने, ल्याउने र कारबाही गर्ने काम सेनाको हो, उसैले गथ्र्यो । मलाई त के जानकारी आउँथ्यो र’, उनले प्रहरी हेडक्वार्टरतिर पन्छाउन खोज्दै भने, ‘त्यो त हेडक्वार्टरले डिल गर्नुपर्ने कुरा थियो । मलाई कसैले पनि जानकारी दिएन ।’ उनले त यतिसम्म भने, ‘प्रहरीका त्यत्रा मान्छे मारिए, त्यसको हिसावकिताव खोइ त ? नेपालगञ्ज, नौमूले जस्तो घटनाको छानबिनचाहिँ कसले गर्छ ?’
महेन्द्र पुलिस क्लबमा सेनलाई ल्याएको बारेमा उपत्यका प्रहरी प्रमुखलाई कसरी थाहा हुन्न भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘त्यतिबेला त्यस्तै थियो । घटना पुरानो पनि भैसक्यो मलाई थाहा हुने कुरा पनि भएन ।’ त्यतिबेला सरकारले सेनलाई पक्राउ नै नगरेको बताएको थियो । त्यसो त सेन हत्याका आरोपी डिएसपी विक्रम थापा पनि त्यसबारेमा केही बताउन चाहँदैनन् । ‘मलाई केही पनि थाहा छैन’, सेनको हत्यासँगै विदेश पठाइएका र शान्ति पुरस्कारबाट पुरस्किृत गरिएका डिएसपी थापा एउटै जवाफ दिन्छन्, ‘मैले कृष्ण सेनको नाम पनि सुनेको छैन, जनादेश साप्ताहिकको नाम पनि सुनेको छैन ।’ नक्सालस्थित १ नम्बर गणमा कार्यरत थापा बढुवाका लागि प्रयास गर्दैछन् ।
mediakurakani.com

No comments:

Post a Comment