यसरी भएको थियो कृष्ण सेनको हत्या

महेन्द्र पुलिस क्लब, जुडो हलछेउको
माथिल्लो घरको पहिलो तल्लाको भिआइपी कोठा । २०५९ जेठ १३ को बिहान ११ बजेको छ
। डोरीले पछाडी हात बाँधेर बन्दीलाई लडाइएको छ । उनी वरिपरि बर्दी पोसाकका
चारजना उभिएका छन् । यातना सहन नसकेर बान्ता गरिरहेका बन्दी पानी
मागिरहेका छन् । तर बर्दीधारी उनको चीत्कार सुनेर हाँसोको फोहोरा
छुटाइरहेका छन् ।
‘ए सेन, भन यो देश कसको हो ?’,
बर्दीधारीका नायकको प्रश्न भुइँमा नखस्दै बन्दीको जवाफ आयो, ‘देश नेपाली
जनताको हो ।’ ‘जनताको भन्छस् ? यो राजाको देश हो । यो ठकुरीको देश हो ।
राजाको भन् राजाको……’, कैदीको निधारमा मुक्का हान्दै बन्दी नायक भन्छन्,
‘साला…. तँ पनि ठकुरी, ज्ञानेन्द्र पनि ठकुरी, म पनि ठकुरी । देश बनाउने
ठकुरीका बिरुद्ध लाग्ने ?’ बर्दीधारीको मुक्कासँगै बुट र लाठी बज्रिरहँदा
बन्दीको प्राणन्त हुन्छ ।
पाठकवृन्द यो कुनै काल्पिनिक नाटक होइन ।
२०५९ जेठ १३ गते बिहान ११ बजेतिर मारिएका पत्रकार कृष्ण सेन इच्छुक र
नेपाल प्रहरीका तत्कालीन डिआइजी अमरसिंह शाहबीच १० मिनेटअघि भएको कुराकानी
हो । नयाँ पौडीपोखरी छेउमा रहेको महेन्द्र पुलिस क्लब एक तल्लामाथिको सोही
कोठामा पत्रकार सेन प्रहरीको चरम यातनाबाट मारिएका थिए ।
६ जेठमा काठमाडौंको नयाँ बानेश्वरबाट
समातिएका उनलाई एक सातासम्म चरम यातनाका साथ महेन्द्र पुलिस क्लबमा राखिएको
थियो । ७ जेठ राति २ बजेसम्म सेनलाई देख्ने पत्रकार संगीता खड्का भन्छिन्,
‘चरम यातनाका कारण उहाँले बान्ता गर्न थालिसक्नुभएको थियो । राति १०
बजेदेखि यातना दिन सुरु भएको थियो । यातनाका क्रममा हातखुट्टा भाँचिइसकेका
थिए ।’ संगीताका अनुसार त्यस्तो बेला पनि दुईजना प्रहरी लगाई जबर्जस्ती
भित्तामा अड्याएर बुटले हान्दै थिए डिएसपी बिक्रम थापा । त्यसको एक साता
नबित्दै पत्रकार सेनको प्राणपखेरु उडेको थियो । हत्यालगत्तै सेनको शवलाई
बोरामा हालेर लगिएको थियो ।
त्यतिबेला महेन्द्र पुलिस क्लबमै रहेका
जनदिशा दैनिकका तत्कालीन संवाददाता भरत सिग्देलका अनुसार ७ जेठमा सेनलाई
प्रहरीले राजाको बखानमा बोल्न लगाएको थियो । ‘ल भन् सेन, यो देशको माया
कसलाई छ ?’, प्रहरी अधिकृतको जवाफ सेनले यसरी दिए, ‘यो देशको माया सबै
नेपालीलाई छ ।’
सिग्देलका अनुसार त्यसपछि प्रहरी
अधिकृतले सेनमाथि खन्निँदै भने, ‘यो देशको माया तेरो बाउ प्रचण्ड, बाबुराम,
बादललाई पनि छैन । शेरबहादुर, गिरिजालाई पनि छैन । यो देशको माया
ज्ञानेन्द्रलाई मात्र छ । बुझिराख् यो देश ठकुरीले बनाएको हो ।’ प्रहरी
अधिकृतले यतिसम्म भनेका थिए, ‘म पनि ठकुरी तँ पनि ठकुरी होस् । तेरो
दिमागमा प्रचण्ड, बाबुरामले गोबर भरिदिएका छन् ।’
आफुलाई ठकुरी बताउने ति प्रहरी अधिकृत
थिए प्रहरीका हालका एआइजी अमरसिंह शाह । शाहले सेनलाई अन्तिम प्रश्न राखेका
थिए, ‘यो देशमा सेना परिचालन हुँदैछ, अमेरिकी सेना नेपाल आउँछ, त्यतिबेला
तँ कहाँ हुन्छस् थाहा छ ?’ सेनको जवाफ आयो, ‘म जहाँ रहेपनि नेपालमै हुन्छु
।’ त्यसपछि शाहले आक्रामक हुँदै भने, ‘साला, तँ माटोमुनी हुन्छस् । म श्री ५
को बफादार सिपाही हुँ, बुझिराख्, त्यतिबेला प्रचण्ड, बाबुरामपनि माटोमुनी
हुन्छन्, गिरिजा र शेरबहादुर पनि जेलमा हुनेछन् । स्मरणीय छ, त्यतिबेला
शेरबहादुर प्रधानमन्त्री थिए ।
समाचार श्रोतका अनुसार १३ जेठमा सेनको शव
बोरामा पोको पारेर महेन्द्र पुलिस क्लबमा राखियो र सरकारी नम्बर प्लेट
परिवर्तन गरी रातो बनाइएको बा १ च ६०७१ नम्बरको सेतो रंगको हाइलक्स पिकअप
भ्यानमा हालेर क्लबबाहिर निकालियो । सई, असई सम्मिलित एउटा टोलीले १३ गते
राति सेनको शव आर्यघाटमा लगेर गुपचुप रुपमा जलाइएको थियो । तत्कालीन डिआइजी
शाहले आफ्ना सहपाठीहरुसित भनेका थिए, ‘ख्यालख्यालमै स्विट एण्ड सावर
(गुलियो र अमिलो) गर्दागर्दै कृष्ण सेन त माथि पुग्यो ।’
तर, सरकारले गोकर्णको जंगलमा भएको दोहोरो भिडन्तमा सेन मारिएको सूचना जारी
गरेको थियो । सूचनामा कृष्ण सेनको नाम त थिएन, तर उनको हुलिया दिएर संकेत
गरिएको थियो ।
पहिलो संकटकालको उत्तरार्धमा भएको
हत्याका बारेमा तत्कालीन सरकारले त मुख खोलेन नै हालसम्म पनि हत्याको
खोजीनीति भएको छैन । उनको हत्यामा मुछिएका व्यक्ति नेपाल प्रहरीका उपल्लो र
निर्णायक स्तरमा छन् । हत्यामा आरोपित प्रहरी यतिबेला मुख खोल्न चाहँदैनन्
। प्रहरीका उपत्यका हेर्ने तत्कालीन डिआइजी अमरसिंह शाह सेन हत्यामा आफू
संलग्न नभएको तर्क गर्छन् । ‘त्यतिबेला यस्ता सबै काम युनिफाइड कमान्डको
नेतृत्व गर्ने निकाय (सेना) को हुन्थ्यो । हामीलाई सरोकार हुँदैनथ्यो’,
कृष्ण सेन समातिएका बारेमा पनि आफुलाई थाहा नभएको भन्दै उनी पन्छिन खोजे ।
‘पक्राउ गर्ने, ल्याउने र कारबाही गर्ने काम सेनाको हो, उसैले गथ्र्यो ।
मलाई त के जानकारी आउँथ्यो र’, उनले प्रहरी हेडक्वार्टरतिर पन्छाउन खोज्दै
भने, ‘त्यो त हेडक्वार्टरले डिल गर्नुपर्ने कुरा थियो । मलाई कसैले पनि
जानकारी दिएन ।’ उनले त यतिसम्म भने, ‘प्रहरीका त्यत्रा मान्छे मारिए,
त्यसको हिसावकिताव खोइ त ? नेपालगञ्ज, नौमूले जस्तो घटनाको छानबिनचाहिँ
कसले गर्छ ?’
महेन्द्र पुलिस क्लबमा सेनलाई ल्याएको
बारेमा उपत्यका प्रहरी प्रमुखलाई कसरी थाहा हुन्न भन्ने प्रश्नमा उनको जवाफ
थियो, ‘त्यतिबेला त्यस्तै थियो । घटना पुरानो पनि भैसक्यो मलाई थाहा हुने
कुरा पनि भएन ।’ त्यतिबेला सरकारले सेनलाई पक्राउ नै नगरेको बताएको थियो ।
त्यसो त सेन हत्याका आरोपी डिएसपी विक्रम थापा पनि त्यसबारेमा केही बताउन
चाहँदैनन् । ‘मलाई केही पनि थाहा छैन’, सेनको हत्यासँगै विदेश पठाइएका र
शान्ति पुरस्कारबाट पुरस्किृत गरिएका डिएसपी थापा एउटै जवाफ दिन्छन्, ‘मैले
कृष्ण सेनको नाम पनि सुनेको छैन, जनादेश साप्ताहिकको नाम पनि सुनेको छैन
।’ नक्सालस्थित १ नम्बर गणमा कार्यरत थापा बढुवाका लागि प्रयास गर्दैछन् ।
mediakurakani.com
No comments:
Post a Comment