Pages

Friday, June 14, 2013

मधेसी दलमा नेता तानातान


मधेसी दलभित्र दुई/चार महिनायता एक-अर्काका नेता आफ्नो पार्टीमा तान्ने प्रतिस्पर्धा छ । उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम नेपालदेखि गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक, महन्थ ठाकुर नेतृत्वको तमलोपा र महेन्द्रराय यादव नेतृत्वको तमलोपा नेपालसम्मले अरू दलका नेतालाई आफ्नोमा भित्र्याउन प्रतिस्पर्धा नै गरिरहेका छन् ।

त्यस्तो प्रतिस्पर्धामा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो अग्रपंक्तिमा छन् । अरू मधेसी दलले अर्काे पार्टीकालाई आफ्नोमा भित्र्याउन त्यतिसारो समय दिएको देखिन्न, महतो भने अरू दल र मधेसइतरका समुदायकालाई पार्टीमा ल्याउन मरिहत्ते गरेर लागिपरेका छन् । अरू पार्टीकालाई 'कन्भिन्स' गराउन उनले पार्टीमा केही व्यक्तिहरूको समूहै खटाएका छन् । केन्द्रीय सदस्य तथा युवा विभाग प्रमुख योगेन्द्र राय यादवलगायतको जिम्मेवारी नै अरू पार्टीकालाई सद्भावना भित्र्याउन 'कन्भिन्स' गर्नु हो । केही महिनाअघि उपेन्द्र नेतृत्वको फोरम नेपालबाट सद्भावना प्रवेश गरेका यादव दिनभरजसो अरू मधेसी पार्टीका नेता भेट्छन् र आफ्नो पार्टी प्रवेश गराउन तल्लीन रहन्छन् ।

'कन्भिन्स' गराइसकेपछि अध्यक्ष महतोसँग गोप्य बैठक गराएर पार्टी प्रवेश कार्यक्रम तय गरिन्छ । पछिल्लो समय जेपी गुप्ता नेतृत्वको 'तराई मधेस राष्ट्रिय अभियान' पुगेका पूर्वराज्यमन्त्री ओमप्रकाश यादव -गुल्जारी) आइतबार सद्भावना प्रवेश गरे । गुल्जारी गत संविधानसभा चुनावमा फोरम नेपालबाट उम्मेदवार भई रूपन्देही-६ बाट निर्वाचित भएका थिए । भैरहवामा आयोजित कार्यक्रममा अध्यक्ष महतोले गुल्जारीसहितका फोरम गणतान्त्रिक रूपन्देहीका नेतालाई पार्टी प्रवेश गराएका हुन् ।

यसबीचमा यादवले पूर्वप्रहरी महानिरीक्षक प्रदीपशमशेर जबरा, मधेसी जनअधिकार फोरम -गणतान्त्रिक) का वरिष्ठ उपाध्यक्ष शेख अब्दुल जब्बार, फोरम नेपाल, फोरम लोकतान्त्रिक हुँदै फेरि उपेन्द्रको फोरममै पुगेकी पूर्वसभासद एवं पूर्वराज्यमन्त्री करिमा बेगमलगायतसँग वार्ता गरी पार्टीमा प्रवेशको वातावरण बनाएका छन् ।

२०४८ ताका गजेन्द्रनारायण सिंहको सद्भावनामा रहेका सप्तरीका पूर्वमन्त्री अनिश अन्सारी, कांग्रेस, तमलोपा हुँदै करिब साढे तीन महिनाअघि सद्भावनामा प्रवेश गरेका थिए । अहिले उनी केन्द्रीय सदस्य छन् ।   शेख जब्बार र बेगम आगामी साता पर्सा र चन्द्रनिगाहपुरमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गर्ने स्रोतको दाबी छ । जब्बारले आफूसहित फोरम गणतान्त्रिकका ४० प्रतिशत केन्द्रीय सदस्यसमेत सद्भावना प्रवेश गराउने आश्वासन दिएका छन् । पार्टीमा उनलाई राम्रो हैसियत दिने 'समझदारी' समेत भइसकेको छ । उनलाई पार्टीमा उपाध्यक्ष पद दिइने एक नेताले बताए । पूर्वप्रहरी महानिरीक्षक जबराले समेत सद्भावना प्रवेशबारे सकारात्मक सोच बनाउँदै निर्णयका लागि केही समय मागेका छन् । जबराले रौतहटको कुनै पनि क्षेत्रबाट चुनाव लड्ने इच्छासमेत व्यक्त गरेका छन् । जबरा, महतो र यादवबीच पार्टी प्रवेशबारे दुई पटक छलफल भइसकेको छ । अध्यक्ष महतोले फोरम -गणतान्त्रिक) का वरिष्ठ महासचिव एवं पूर्वकृषिमन्त्री अकबाल अहमद शाहलाई समेत सद्भावना प्रवेश गर्न आग्रह गर्दै पटक- पटक छलफल गरेका छन् ।

फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवसँग टाढिँदै गएका महासचिव शाह भने एक- दुई जना एक- अर्को पार्टीमा प्रवेश गरेरभन्दा पनि मधेसी दलबीच एकीकरण हुँदा मधेस-मधेसीलाई हितकर हुने टिप्पणी गर्छन् । सोही पार्टीका सहअध्यक्ष बीपी यादवसमेत अध्यक्षसँग सन्तुष्ट छैनन् । जनतान्त्रिक तराई मुक्ति मोर्चाका नेता रविदत्त मिश्र -राजगुरु), भगत सिंह समूह -नेपालगन्ज), लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष भक्तमान लिम्बू -धरान), नेपाल सद्भावना पार्टी -आनन्दीदेवी) देवेन्द्र मिश्रको समूह र कौटिल्य शर्मा -सञ्जय गुप्ता) समेत सद्भावना प्रवेश गर्दै छन् । तमलोपा नेपालका रामआशिष गुप्ता र केन्द्रीय सदस्य केदारनाथ यादव प्रवेश गरिसकेका छन् । तमलोपाका केन्द्रीय सदस्यहरू सत्राजित यादव, अरुणकुमार दास र विश्वेश्वर रजक पनि सद्भावना भित्रिएका छन् । एमाओवादीबाट समेत कतिपय नेता प्रवेश गरेका छन् ।

आगामी निर्वाचनलाई मध्यनजर गर्दै महतोले दुई रणनीति लिएका छन् । एउटा अरू दलमा सक्रिय रहेका नेतालाई आफ्नोमा भित्र्याउने र अर्को जनसंख्याका हिसाबले धेरै रहेका समुदायलाई पार्टी प्रवेश गराएर समानुपातिक मत हासिल गरी सिट संख्या बढाउने । समानुपातिक मत बटुल्न उनले सरकारबाट बाहिरिएलगत्तै पहाड र हिमाली जिल्लामा पार्टी विस्तार गरेका छन् । तराई/मधेससहित ६४ जिल्लामा पार्टी विस्तार भएको छ । यादवको भन्दा बढी जनसंख्या भएको मुसलमान समुदायको मत हासिल गर्ने ध्याउन्नमा महतो लागिपरेका छन् । मुलुकमा मुसलमानको जनसंख्या ११ लाख ६४ हजार २ सय ५५ छ । त्यसका लागि उनले पार्टीमा विगतमा चुनाव जितेर मन्त्रीसमेत बनिसकेका अनिस, पूर्वमन्त्री शाह र रौतहट-२ मा फोरम नेपालबाट राम्रो मत हासिल गरेका शेख जब्बारलगायतलाई पार्टीमा राम्रो हैसियत दिन लागेका छन् ।

पहाडका मुसलमान समुदायको समेत मत लिन उनले केन्द्रीय तहमै ठाउँ दिएका छन् । केही दिनअघि उनले कास्कीका हिक्मत मियाँलाई केन्द्रीय सदस्य बनाएका छन् भने मुसलमानको बाहुल्य भएका पहाडी जिल्ला तनहुँ, गोरखा, स्याङ्जा, लमजुङ, पाल्पा, अर्घाखाँची, नुवाकोट, चितवनलगायतमा समेत पार्टी विस्तार गरेका छन् । जनकपुरमा सम्पन्न पार्टीको पाँचौं महाधिवेशनबाट विधान संशोधन गर्दै सद्भावनाले पहाड क्षेत्र, पिछडिएको क्षेत्र र समुदायका लागि आरक्षणको व्यवस्था गरेको थियो । तराई/मधेसकै बुद्धिजीवी र समाजसेवीलाई पार्टीमा प्रवेश गराई राष्ट्रिय पार्टी बनाउने अभियानमा सद्भावना लागेको छ । 'सद्भावना मधेसको मात्रै होइन पहाड र हिमालसम्मै बस्ने नेपालीको साझा पार्टी हो,' भन्ने नाराका साथ गत महिना महतोले मेची-महाकाली यात्रा गरेका थिए । त्यस क्रममा उनले पहाडी समुदायका धेरै व्यक्तिलाई पार्टी प्रवेश गराएका थिए । 'पहाडमा प्रत्यक्ष चुनाव जित्न नसके पनि हिमाल पहाडबाट समानुपातिक भोट लिन सकिन्छ,' महतोले कान्तिपुरसित भने, 'आदिवासी, जनजाति, मुसलमान र पिछडिएका समुदायबाट समेत मतको आशा छ ।'

महतोको मात्र होइन फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले समेत यादवहरूलाई आफ्नो पार्टीमा प्रवेश गराएर यादवको भोट बटुल्ने रणनीति लिएका छन् । उनले गत संविधानसभामा महतो नेतृत्वको सद्भावनाबाट चुनाव जितेका महेशप्रसाद यादव, मधेसी वरिष्ठ नेता भरतविमल यादव, राम्रो मत हासिल गरेका योगेन्द्र यादव, बबन सिंह, रामचन्द्र राय यादवलगायतलाई पार्टीमा भित्र्याएका छन् । सबै पार्टीका यादव थरका नेताहरूलाई पार्टी प्रवेश गराई यादव समुदायको मत हात पार्ने दाउ उपेन्द्रको हो । मुलुकमा यादवको जनसंख्या १० लाख ५४ हजार ४ सय ५८ छ ।

यस्तै रणनीति बनाएका छन् फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पनि । अरू पार्टी छाडेका थारू/चौधरीलाई उनले भित्र्याएका छन् । तमलोपा नेपाल छाडेका पूर्वसभासद एवं पूर्वमन्त्री गोविन्द चौधरीसहितका आधा दर्जन थारू नेतालाई उनले पार्टी प्रवेश गराएका छन् । करिब १५ लाख रहेको थारू/चौधरीको मत आफ्नोमा पार्ने गच्छदारको उद्देश्य छ । त्यसो त उनले पहाडी र केही हिमाली जिल्लामा समेत पार्टी विस्तार गरी समानुपातिक मतका लागि बीजारोपण गरिसकेका छन् ।

तमलोपा अध्यक्ष महन्थ ठाकुर भने मधेसका बाहुन -त्रिपाठी, झा, मिश्रलगायत), राजपुत, कायस्थ, मारबाडी/गुप्ता, भूमिहारलगायतका समुदायको मत तान्न छिन्नभिन्न रहेका साना/ठूला/एकल मधेसी दलहरूसँग छलफल चलाइरहेका छन् । जिल्लामा अरू पार्टीका नेतालाई आफ्नोमा प्रवेश गराउने अभियान पनि सँगै चलाएका छन् ।

सके एकीकरण नभए मोर्चाबन्दी गरेर भए पनि मधेसी बाह्मण समुदायको मत बटुल्ने उनको ध्याउन्न हो । त्यसो गर्दा समानुपातिक मत बढ्ने दाउ तमलोपाको छ । तमलोपा र तमलोपा नेपालको पहाडी क्षेत्रमा कुनै अस्तित्व छैन त्यसकारण तराई/मधेसकै २२ जिल्लाबाट भोट सिट बटुल्नुको विकल्प छैन उनीहरूलाई । उनलाई अनिल झा नेतृत्वको संघीय सद्भावना, रामनरेश राय नेतृत्वको राष्ट्रिय सद्भावना, सरिता गिरी नेतृत्वको सद्भावना -आनन्दीदेवी), अमर यादवलगायतले सघाउने आश्वासन दिइसकेका छन् ।
kantipur

No comments:

Post a Comment