Pages

Sunday, June 29, 2014

फेसबकुमा मधेसीमाथि विभेद भएको गुनासो

१० असार, काठमाडौं । ‘फेसबुकमा पहाडे समुदायले जस्तोसुकै कमेन्ट गर्दा पनि पक्राउ नपर्ने, तर मधेसीलाई चाँहि समान्य कुरो लेख्दा पनि पक्राऊ गर्ने ?’ मंगलबार नयाँ बानेश्वरको मसला कटेजमा आयोजित कार्यक्रममा मधेसी समुदायका विश्लेषक, पत्रकार एवं नेताहरुले गुनासो गरे-’अब्दुल रहमान र राजु साहको ठाउँमा कुनै पहाडे समुदायको व्यक्तिले फेसबुकमा कमेन्ट लखेको भए उसलाई पक्राउ गरिने थिएन ।’

मधेसी पत्रकार संघले आयोजना गरेको ‘नेपालमा सोसियल मिडियाको प्रयोगको अवस्था’ विषयक पत्रकार सम्मेलनमा अधिवक्ता दिपेन्द्र झाले प्रश्न गरे- ‘एमालेकै गृहमन्त्री भएका बेला मधेसीमाथि किन यस्तो हुन्छ हँ ? एसएसपी रमेश खरेलले बि्रफकेसको कुरा गर्दा केही नहुने, पीडित रहमानले व्यक्ति नै नतोकी आफूले ५० हजार घुस खुवाउनुपर्‍यो भनेर फेसबुकमा कमेन्ट गर्दा किन पक्राउ पर्ने ?’
सरकारी कर्मचारीले गृहमन्त्री वामदेव गौतमलाई ‘पिछडवा से गोली हान्नुपर्ने भन्नु’ भन्ने कमेन्ट गरेको भए पनि हालै पक्राउ परेका अब्दुल रहमानको कमेन्टमा गिरफ्तार गरिहाल्नुपर्ने भाषा नरहेको झाले बताए । मधेसी समुदायमाथि प्रहरी र सरकारी कर्मचारीको व्यवहार पक्षपातपूर्ण रहेको उनले बताए ।
सप्तरीको पोर्ताहा १ का २९ वर्षीय अब्दुललाई प्रहरीले विद्युतीय ऐनको दफा ४७ लगाएर १९ दिन हिरासतमा राखेकोमा सरकारले उनलाई क्षतिपूर्ति दिनुपर्ने अधिवक्ता झाले बताए । क्षतिपुर्ती नपाए आन्दोलनमा उत्रनुपर्ने उनले भने ।
गत जेठ १७ गते नागरिक दैनिकको पूर्वाञ्चल संस्करणमा ‘सप्तरीमा सुधि्रँदो सुरक्षा’ शीर्षकको समाचार पढेपछि रहमानले फेसबुकमा कमेन्ट लेखेका थिए-’केको सुधि्रनु, आफ्नै चोरी भएको बाइक फर्काउन पैसा तिर्नुपर्‍या छ, त्यो पनि ५० हजार ।’ यही कमेन्ट लेखेका आधारमा रहमानलाई प्रहरीले १९ दिन हिरासतमा राखेर तारेखमा छाडेको छ ।
पूर्वराजदूत विजयकान्त कर्णले रहमानको गिरफ्तारीपछि दुईहप्तासम्म स्थानीय पत्रकारले समाचार नलेखी मौन बसेको गुनासो गरे । कार्यक्रममा मधेसी पत्रकार संघका पंकज दासले स्थानीयस्तरमा प्रहरी र प्रशासन प्रमुखसँग स्थानीय पत्रकारहरुको ‘नेक्सस’ तोड्नुपर्ने बताए । सहभागीहरुले स्थानीय पत्रकारहरु राम्रो समाचार लेखेर प्रहरीलाई खुशी पार्ने अभियानमा लाग्दा रहमानको गिरफ्तारीबारे दुई हप्तासम्म स्थानीय मिडियामा अवाज नउठेको गुनासो गरे ।
सद्भावना पार्टीका महासचिव मनिष सुमन, फोरम नेपालका केन्द्रीय सदस्य अशोककुमार यादव र तमलोपाका केन्द्रीय सदस्य सुरेश मण्डलले मधेसी समुदायमाथि राज्यले विभेद गर्ने गरेको बताए ।
सदभावनाका महासचिव सुमनले मधेसका जिल्लामा कांग्रेसका क्षेत्रीय सदस्यलाई भन्दा सदभावनाको महासचिवलाई प्रहरीले कम महत्व दिने र हेप्ने गरेको गुनासो गरे ।
त्यसैगरी विश्लेषक तुलानारायण साहले खगेन्द्र संग्रौलाको पासपोर्ट एकैदिनमा बनेको तर सीके लालले धेरै दिन धाउनुपरेको गुनासो गरे । मधेसी समदायमा ‘पिछडवा से गोली मार दो’ भन्ने पदावलीलाई सामान्य गाली मानिने भए पनि राज्यले राजुलाई पक्राऊ गरेर भाषिकरुपमा समेत विभेद गरेको साहले बताए ।
सामाजिक सञ्जालको भूमिकाबारे आयोजित छलफल राज्यले मधेसी समुदायमाथि गरेको विभेदमा केन्दि्रत भएको थियो । यही विभेदको पछिल्लो उदाहरणका रुपमा फेसबुक चलाउने मधेसी युवालाई राज्यले दुख दिएको गुनासो वक्ताहरुले गरेका थिए ।
पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्माले पहाडे र मधेसी नभनी अभिव्यक्तिको स्वतन्त्रताको पक्षमा सबैले मिलेर संघर्ष गर्नुपर्ने बताए । राज्यले न्यायाधीशबारे टिप्पणी गर्न नपाउने गरी कानून ल्याउन लागेको भन्दै त्यसको सबैले विरोध गर्नुपर्ने शर्माले बताए ।
- See more at: http://www.onlinekhabar.com

No comments:

Post a Comment