भरतविमल यादव
वरिष्ठ नेता, मधेसी जनअधिकार फोरम नेपाल
२०६२/६३ को जनआन्दोलनको नेतृत्वकर्ता भरत विमल यादव केही दिन पहिले उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका छन् । सद्भावना आनन्दीदेवीका उपाध्यक्षसमेत रहेका यादवलाई तत्कालीन अवस्थामा पार्टीमा अल्पमतमा पारिएपछि लामो समय राजनीतिक क्रियाकलापमा निष्क्रिय रहँदै आएका थिए । यसअवधिमा उनी कुनै पनि राजनीतिक दलसँग आबद्ध नभए पनि कुनै न कुनै माध्यमबाट जनताकहाँ पुगिरहेको उनको दाबी छ ।
इमानदारिताको राजनीति गर्न आफू यस क्षेत्रमा होमिएको दाबी गर्ने यादव, आफूले पहिले नै नयाँ पार्टी गठन गर्न सक्ने भए पनि टुटफुटको राजनीति नगर्ने भनेर नै नयाँ पार्टी दर्ता नगरेको बताउँछन् । उनले फोरम नेपालमा पनि आफुले अध्यक्ष या कुनै कार्यकारी पदको आशा नगरेको बताए । तत्कालीन सात दलका नेताहरूले पार्टीमा अल्पमतमा परेपछि संविधानसभामा प्रतिनिधित्व गराउने आश्वासन दिए पनि नगराएकाले राजनीतिबाट टाढा हुनुपरेको उनको दुखेको छ । कुनै पदका लागि राजनीति नगरेका कारण आफूलाई कहिले पनि समस्या नहुने उनको ठम्याइ छ ।
प्रस्तुत छ, फोरम नेपालमा प्रवेश गर्नुको कारण, मधेसको राजनीति, संविधानसभा, नयाँ सरकारलगायतका विषयमा राजनीति ब्युरो प्रमुख बलराम पाण्डेले फोरम नेपालका वरिष्ठ नेता यादवसँग गरेको कुराकानी ः
लामो समयको निष्क्रियतापछि पुनः राजनीतिमा फर्किनुभएको छ । राजनीतिभन्दा टाढा बस्न नसकिँदो रहेछ हैन ?
यसो हेर्दा त्यस्तो देखियो, तर राजनीतिबाट पूर्ण निष्क्रिय भएको होइन । प्रचण्डजीको भाषा चोरेर भन्ने हो भने निरन्तरतामा क्रमभंगता मात्र भएको हो । क्रमभंग हुनुमा त्यतिबेलाका पार्टीभित्रको आन्तरिक कारण पनि हो । त्यसपछि राष्ट्रिय राजनीतिका खेलाडीको कारणले गर्दा सक्रिय राजनीतिबाट टाढा रहेको देखिएको हो ।
त्यसबेला सद्भावना पार्टीको उपाध्यक्ष र कार्यकारी भूमिका थिएँ । त्यो जनआन्दोलनमा भूमिका, सोच, आफ्नो राजनीतिक सक्रियता र इमानदारिता पार्टीभित्रका साथीहरूलाई पनि अलि राम्रो लागेनछ । त्यसपछि मेरो विरुद्धमा लागेर कार्यसमितिमा अल्पमतमा पारियो । म जहिले पनि इमानदारिताको राजनीति गर्ने व्यक्ति हो । त्यस्तो भएपछि मैले पार्टी परित्याग गरेको हुँ । त्यसपछि सक्रिय रूपमा राष्ट्रिय राजनीतिमा कसरी प्रवेश गर्ने भन्ने कुरा थियो । जनआन्दोलनका सहयात्री दलहरू, राष्ट्रिय स्तरमा नाम कमाएका नेताहरूबाट पनि मैले घात प्रतिघात पाएँ ।
कसरी ?
पार्टीबाट म अलग्गिएको अवस्थामा पनि राष्ट्रिय राजनीतिमा आउन नयाँ संगठन त चाहियो । त्यो हिसाबले मैले सोच बनाइरहेको थिएँ । तपाईं राष्ट्रलाई चाहिएको व्यक्ति हो, संविधानसभामा तपाईंको उपस्थिति अनिवार्य छ भनेर मलाई त्यसबेला भनियो । राष्ट्रिय व्यक्तित्वबाट मनोनीत गर्ने कोटमा तपार्इंलाई ल्याउँला भनेर मलाई भनियो । मैले स्वीकार गरेँ । संविधानसभा सुरु भएपछि मनोनीत हुनेमा मलाई ल्याइएन । राजनीतिको मूल आधार जनसम्पर्क हो । राजनीतिक विषयबस्तुको अध्ययन गरेँ, तर राष्ट्रिय राजनीतिका हरेक महŒवपूर्ण समयमा प्रेसको माध्यमबाट समय–समयमा आफ्नो विचार राख्दै पनि आएको थिएँ । म निष्क्रिय बसेको भने होइन ।
मधेसवादी दलका नेताहरूमा असन्तुष्टि हुनासाथ नयाँ पार्टी खोल्ने लहड नै चलेको छ । तपार्इं किन अर्को पार्टीमा समाहित हुनुभयो ?
यही नै फरक हो । मैले चाहेको भए त्यतिबेला पनि नयाँ पार्टी खोल्न सक्थेँ । अल्पमतमा भए पनि नयाँ पार्टी बनाउन सक्थेँ । ठूलो नभए पनि सानै बनाउन सक्थेँ । टुटफुटको राजनीति निरुत्साहित गर्न चाहन्थें । राष्ट्रलाई सेवा गर्नुपर्छ भन्ने मेरो भावना छ । राजनीतिको माध्यमबाट राज्यलाई उपयोग होइन, सेवा गर्नुपर्छ । अहिले पनि आफ्नै संगठन बनाउन सक्थें । देशमा अहिले नकारात्मक सन्देश गइरहेको बेला छ । नेताहरूको चरित्रका बारेमा नकारात्मक कुरा बढी अगाडि आइरहेका छन् । यसैलाई नै मैले दुरुत्साहित पार्नुपर्छ भन्ने सोच राखेँ । जुन राजनीतिक विचारधाराबाट म प्रभावित छु त्यसका लागि अध्यक्ष बन्नलाई मात्र पार्टी खोल्नुपर्दैन । फोरम नेपालसँग मेरो विचारधारा मिल्यो र यसमा प्रवेश गर्न मलाई सहज पनि भयो । फोरम नेपाल नै किन भन्ने प्रश्न पनि आउँछ । फोरम नेपाल जनआन्दोलन र मधेस विद्रोहबाट स्थापित भएको पार्टी हो । यसले विगतमा आन्दोलनताका जनताले भोगेको दुःखको मनन गरेर जनआकांक्षा विपरीत जाँदैन कि भन्ने हो ।
तर त्यही पार्टी फुटेर चारवटा नयाँ पार्टी बनिसक्यो ?
हुनत फोरम नेपालबाट तपाईंले भनेजस्तै चारवटा पार्टी भइसक्यो । यसमा दुईवटा पक्ष छन् । नेताहरूको उत्पत्ति पनि भिन्न तरिकाले भएको छ । त्यहाँ पनि आफ्नो व्यक्तिगत महŒवाकांक्षा पूर्तिका लागि बार्गेनिङ हुन थाल्यो । बार्गेनिङ पावर गेन गर्न नयाँ पार्टी बनाउनुप¥यो । मेरो आफ्नै मूल्य–मान्यता छन् । जनताले मलाई त्यही आधारमा विश्वास गर्दै आएको हो । मलाई बार्गेनिङ पावर गेन गर्ने लक्ष्य छैन भने मैले पार्टी खोल्नै परेन । उपेन्द्रजी मेरो सम्पर्कमा दुई वर्षदेखि नै हुनुहुन्थ्यो । विभिन्न स्थानमा कुराकानी भयो । समस्या कसरी समाधान गर्ने भन्ने विषयमा छलफल हुन्थ्यो । म पार्टी अध्यक्ष बन्न आएको होइन । म मूल्य–मान्यतामा राजनीति गर्ने व्यक्ति हुँ । राजनीतिक सम्मानको मात्रै म भोको हुँ । राजनीतिक लाभ होईन सम्मानका लागि मात्र राजनीति गरेको हुँ । मलाई कार्यकारीको लाभ छैन । त्यो पदमा म जान चाहन्नँ । यही बुझाइमा हामी एक भएर अघि बढेका छौं ।
संविधानसभापछि पनि धेरै मधेसी पार्टी गठन भए । यी पार्टीहरूले मधेस र मधेसीको माग पूरा गराउन सक्लान् ?
यसले धेरै नकारात्मक सन्देश दिएको छ । मधेसी जनतामा पनि यही सन्देश छ । मधेसका लागि काम गर्ने भन्छन् । मुद्दा उही हुन् भने अलग पार्टी किन हो त ? भन्ने जनतालाई लागेको छ । मधेसको नाममा नेताहरूले आफ्नो रोटी सेकिरहेका छन् । कसरी कुर्सीमा जाने भन्नेमा उनीहरूको ध्यान छ । तीन–चारवटाबाट १८ वटा भइसके । मन्त्री बन्नका लागि मात्रै पार्टी फुटेका हुन् । मन्त्री बन्ने मात्रै महŒवाकांक्षा लिएर राजनीति गर्ने व्यक्तिले त्यो पाएन भने पानीबिनाको माछाजस्तो हुन्छ अनि षड्यन्त्रमा लागिसकेको हुन्छ । उत्तर, दक्षिण, पश्चिम, पूर्व गुहारेर पनि षड्यन्त्रमा लागिसकेको हुन्छ । पार्टीमा एउटा सांसद छ, ऊ मन्त्री हुन्छ । यो सरकार पनि कस्तो होला, केही कुरै बुझेको हुँदैन । सरकार टिकाउन मात्रै यो हदसम्म तल झर्न हुन्छ त ? पहिले हामीले शेरबहादुरजीको सरकारलाई जम्बो भन्थ्यौं । बाबुराम भट्टराईको त्यो भन्दा ठूलो भो । राष्ट्रप्रतिको पनि त दायित्व बुझ्नुपर्छ । मन्त्री बनाउनका लागि १७ बाट २६ वटा बनाइयो । देशको अर्थतन्त्रका लागि बोझ मात्रै हो । बाबुरामजीले त महाजम्बो नै बनाउनुभएको हो । यो व्यक्तिगत महत्वाकांक्षा नै हो ।
त्यसो भए अहिलेसम्म सरकारमा रहेका मधेसी नेताहरूले मधेसका लागि केही नै गरेनन् त ?
विगतमा सरकारमा गएका मधेसी नेताहरूको कार्यविधि, उहाँहरूको कार्यक्षमता र कार्यकालमा मधेसी जनता सन्तुष्ट हुन सकेका छैनन् । नेताहरूमा बढी सत्तालिप्सा भयो ।
मधेसी मुद्दामा आधारित भएनन् । उनीहरू मधेसका मुद्दामा आधारित भएको भए सत्तामा भएका बेला सरकारले सम्बोधन नगरे सरकारबाट अलग हुने काम गर्न र आँट देखाउन सक्नुपथ्र्यो । आदिवासी, जनजाति, महिलाका मागमा बढी संवेदनशील हुनुपर्छ । उहाँहरूको मूल्यांकन मैले गर्नुभन्दा भोलि मधेसी जनताले नै गर्नेछन् । त्यो बेलामा कति राजनीतिक आदर्श सिद्धान्त र नीतिका साथ मधेसका मुद्दा अघि लगेका छन्, कसले छलकपट गरेका छन् जनताले देखाउनेछन् ।
अब तपाईं आफ्नै क्षेत्रमा चुनाव लड्न जानुहुन्छ ?
चुनाव लड्नलाई पहिले चुनाव हुनुप¥यो । यसमा नै शंका उब्जिएको छ ।
नहुने सम्भावना छ र ?
अहिले त चुनाव घोषणा नै भएको छैन । त्यसको वातावरण बनाउन सरकारले पनि सकेको छैन । नेकपा–माओवादीले निर्वाचनको वातावरण बनाऊ भनेर सरकारलाई माग तेस्र्याएको छ । फोरम नेपालले पनि अघि सारेको छ । सरकारले यसलाई सकारात्मक रूपले लिनुपथ्र्यो, त्यो सकेन । चुनावको वातावरण नै छैन । सरकारले निर्वाचन घोषणा ग¥यो मानौं । त्यो निर्वाचन राजा ज्ञानेन्द्रले गराएको जस्तो भयो, कसले भाग लिन्छ ? सरकारले व्यापक सहभागिता र सर्वस्वीकार्य चुनाव गराउन सक्नुपर्छ ।
चुनाव भएन भने त्यसको विकल्प के हुन सक्छ त ?
चुनावको विकल्प चुनाव नै हो । समाजका हरेक क्षेत्रबाट सरकारलाई चनाखो बनाउनुपर्छ । नागरिक समाज र पेसागत संगठनबाट सरकारलाई दबाब दिएर निर्वाचनको वातावरण बनाउनतिर लाग्नुपर्छ । निर्वाचनका लागि भनेर चुनावी सरकार गठन भएको छ, त्यो नै अलोकतान्त्रिक हो । सरकार बनाउने कार्यविधि भएन । दलहरूबीच व्यापक सहमति हुनु जरुरी थियो । मूल प्रवाहमा रहेका दलहरूसँग समेत सहमति कायम गरिएन । तीन दल र मधेसी मोर्चाको सिन्डिकेटले बाधा अड्काउ भनेर संविधान नै संशोधन गरिदिए । प्रधानमन्त्री बन्नका लागि प्रधानन्यायाधीश चाहिन्छ भनेर किन राखियो ? यसमा ठूलो षड्यन्त्र छ । यसमा खतरनाक रहस्य लुकेको छ ।
के लुकेको छ त्यस्तो ?
सर्वोच्च कार्यकारीमा गएको व्यक्ति भोलि प्रधानन्यायाधीशमा फर्कन्छु भनेर सोच राख्नु राम्रो होइन । प्रधानमन्त्री भएपछि न्यायालय प्रमुख किन रहिरहनुप¥यो । काम गर्नेले गल्ती पनि गर्छ । सरकारले गरेको गल्तीलाई लिएर भोलि अदालत पनि जानुपर्ने हुन्छ । त्यही व्यक्ति भोलि अदालतमा जान मिल्छ ? न्याय माग्न अदालत जाँदा उही व्यक्ति हुन्छ भने न्याय पाउँछ त ? त्यसैले स्वच्छ निर्वाचन हुन दिँदैन । खिलराजजीले महŒवाकांक्षा राख्नु हुँदैन । उहाँ आफंैले राजीनामा दिइहाल्नुपर्ने हो । मर्यादाक्रमको पनि ख्याल गर्नुपर्ने हुन्छ ।
निर्वाचन भइहाले पनि हाल देखिएका समस्याहरू समाधान हुन्छन् त ?
निर्वाचनमा व्यापक सहभागितामा भयो भने । फ्रेस म्यान्डेट आउँछ ।
तर संविधानसभाले निकास दिन त सकेन नि !
विगतको संविधानसभाले निकास दिन सकेन यो सत्य हो । ठूला दलका ठूला नेताहरूको कुकृत्यले नै निकास दिन सकेन । खेलाडीहरूको कुकृत्यले गर्दा निकास दिन नसकेको हो । भोलि हामी व्यापक सहभागिताको निर्वाचनमा गयौं भने निकास निस्कन्छ । जनताले सबै मूल्यांकन गरेका छन् । भोलि देशले निकास पाओस् भनेरै जनताले म्यान्डेट दिनेछन् ।
karobar dainik
No comments:
Post a Comment