Pages

Thursday, June 13, 2013

नयाँ मोर्चाको आवश्यकता छैन


महेन्द्रराय यादव
अध्यक्ष, तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल

मधेशको राजनीतिमा तमलोपाको ‘हाई टी’ ले निकै चर्चा पायो तर त्यहाँ तपाईको अनुपस्थिति रह्यो किन ?
–कसैले चिया खान बोलाउँदैमा गई हाल्नुपर्ने छैन । कुनै उद्देश्यले किन र केका लागि बोलाएको हो भनि कुरा नखुलेसम्म बोलाउँदैमा गई हाल्नु हुँदैन । तमलोपाको नीजि कार्यक्रम थियो त्यसमा दलका नेताहरुलाई चिया खानका लागि बोलायो जसलाई फुर्सद थियो गयो मलाई फुर्सद भएन गएनौ ।

तपाईका पार्टीका प्रतिनिधि थियो रे भन्छन् नि ?
–रामबाबुको बारेमा भन्दै होला । उहाँ मेरो स्वकीय सचिव हो । त्यहाँ मात्र होइन कि त्यसप्रकारको हुने कार्यक्रमहरुमा जहाँ पनि पुगिरहेका हुन्छन् । मलाई विना जानकारी दिई उहाँ त्यहाँ जानुभएको थियो । कमसे कम कुनैपनि कार्यक्रममा प्रतिनिधित्वका लागि केन्द्रीय सदस्यसम्मको हुुनुपर्छ तर रामबाबु जिल्ला स्तरीय कार्यकर्ता भएको कारण उहाँलाई त्यहाँ प्रतिनिधिको रुपमा मान्न नहुने हो । जब कि म आफै भनिरहेको छु कि चियापान कार्यक्रममा मेरो पार्टीको उपस्थिति थिएन भने कुरामा किन विश्वास लाग्दैन ? त्यस्तो चियापानमा हाम्रो कुनै उपस्थिति थिएन ।

चियापान बाहाना भएपनि त्यहाँ मोर्चा बनाउने कुरा थियो त्यो कुरा तपाईलाई थाह थियो तैपनि जानु भएन यसको मतलब तपाई मोर्चाको विरुद्धमा हुनुहुन्छ ?
–हेर्नुस्, कुनैपनि बैठकको औपचारिकता हुन्छ त्यसको एउटा उद्देश्य हुन्छ तर त्यो कार्यक्रमको उद्देश्य एउटै थियो चिया खानु । अब चिया खानेबेलामा अनेक कुराहरु उठ्छन् । त्यहाँपनि मोर्चा बनाउने कुरा उठेको होला यो अस्वभाविक पनि होइन । यदि मोर्चाको लागि छलफल हुँदैछ त्यसको पूर्व तयारी भएको भए त्यहाँ जान सकिन्थ्यो तर उद्देश्य अर्कै कार्यक्रम अर्कैमा जानुको कुनै अर्थ छैन । एउटा मोर्चा क्रियाशिल हुँदा हुँदै अर्को मोर्चाको कुरा गर्नुपनि आफैमा विवादस्पद कुरा हो ।

त्यसो भए तपाई नयाँ मोर्चाको पक्षमा हुनु हुन्न ?
–कुरा नयाँ वा पुराना मोर्चाको होइन । यहाँ मोर्चाको आवश्यकताको कुरा हो । मोर्चा किन र के उद्देश्यका लागि हुनुपर्छ भने कुरा पहिला तय हुनुपर्छ । यदि कुनै खास उद्देश्य छैन, खास लक्ष्य छैन भने नयाँ मोर्चा किन ? केका लागि ? संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा हुँदा हुँदै अर्को मोर्चा बनाउनुका उद्देश्य किलियर गर्नुपर्छ । यदि कुनै दल वा व्यक्तिले आफ्नो स्वार्थ अनुसार मोर्चा बनाउन लागेका छन् भने त्यसमा मलाई केही भन्नु छैन । यदि पुरानै उद्देश्य र कार्यका लागि मोर्चा बनाउन लागिएको हो भने मेरो विचारमा संयुुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई नै सक्रिय गरेर त्यसैमा सबै दललाई समावेश गर्नुपर्छ । नयाँ बनाउनका लागि शक्ति र समय खर्च गर्नुको सट्टा बनिबनाउलाई ने बलियो बनाएर अगाडि बढ्नुपर्छ भने हाम्रो पार्टीको मान्यता रहेको छ ।

नयाँ मोर्चा खोल्नुमा के आपत्ति छ त ?
–कुनै आपत्ति छैन तर यो मधेशी मोर्चा डिजल्व भयो, यसको कुनै औचित्य छैन, यो यो कारणले यो चलेन, यसकारणले नयाँ मोर्चा चाहिन्छ भनेर मोर्चामा छलफल हुनुपर्ने हो तर मोर्चाको बैठकै नबोलाई आफ्नो मनले जसलाई जे मन लाग्छ त्यही गर्यो भने यसमा मलाई केही भन्नु छैन । यो मोर्चा कम्ती मेहनतले बनेको होइन । जजसले मेहनत गरेको छ त्यसलाई थाह छ कि मोर्चा बनाउन कतिको मेहनत पर्यो । फेरि यो मोर्चाले वर्तमान सरकार निर्माण गरेको छ । मोर्चाको साथमा थुप्रै सम्झौताहरु भएका छन् जुन कार्यान्वयन हुन बाँकी छ । यदि मोर्चा नै भंग भयो भने सम्झौता गर्ने अर्को पक्षलाई झन सजिलो हुन्छ कि जुन मोर्चाबाट सहमति भएको थियो त्यही रहेन भने कार्यान्वयन कि कसका लागि भन्छन् । मधेश आन्दोलनपछि जतिपनि सम्झौताहरु भएका छन् सबै मोर्चाकै साथमा भएका छन् तर मोर्चा नै रहँदैन भने सबै मेहनतमा पानी फेर्नेछ । त्यसैले अहिलेको अवस्थामा नयाँ मोर्चाभन्दा पुरानै मोर्चालाई सशक्त रुपमा अगाडि बढाए राम्रो ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका पाँच नेता पाँचतिर छन् बैठक बस्ने कुनै सम्भावना छैन भने त्यस अवस्थामा नयाँ खोल्ने बाहेक अरु के विकल्प छ त ?
–मैले कहाँ भनेको छु कि नयाँ खोल्नु हुँदैन तर त्यसको बारेमा कही नकही त छलफल हुनुपर्छ नि । पहिलो कुरा त यो मोर्चा खोल्ने कुरा त मधेशी मोर्चामै छलफल हुनुपथ्र्यो अनि मात्र मोर्चा खोल्ने कुरा आउथ्यो । अहिले के भएको छ भने, मोर्चामा रहेका नेताहरुले मोर्चालाई आफ्नो स्वार्थ अनुसार प्रयोग गरे जब स्वार्थ पुरा भयो अनि लवारीस छाडि दिए, त्यस्तो हुनु हुँदैन । अहिले पनि केही विग्रेको छैन । मधेशवादी दलले कुनै पनि निर्णय लिँदा मोर्चाबाट नै लिनुपर्छ ।

बैठक किन बसिरहेका छैन त, तपाई पनि मोर्चाका एक नेता हुनुहुन्छ बैठक बसाउने पहल गर्दा हुन्छ नि किन भइरहेका छैनन् ?
–केही दिन पहिले मात्र विजयकुमार गच्छदरासँग मोर्चाको बारेमा कुराकानी भएको थियो । उहाँ बैठक बोलाउने तयारीमा हुनुहुन्छ । मपनि त्यसको पहलमा लागेको छु । अन्तिमपटकका लागि भएपनि एकचोटी बैठक बस्नैपर्छ ।

मधेशवादी दलहरुको बीचमा अहिले तिब्र धु्रवीकरण भइरहेको छ कुन दल कहाँ गएर मिल्ने हो ठेगान छैन तपाईको पार्टी कोसँग मिल्दैछ  ?
–मधेशमा राम्रो ध्रुवीकरण देखिएको छ, एक अर्काको कार्यकर्ता तथा नेता तान्नु पार्टी पार्टीबीच ध्रुवीकरण हो भने मलाई केही भन्नु छैन तर यहाँ पार्टी पार्टीबीचको एकीकरण अथवा ध्रुवीकरणको नाममा दलहरु विग्रिदै गइरहेका छन् जस्तो लाग्छ । मेरो पार्टी कुनै दलसँग एकीकरण गर्दैन । बरु, मोर्चाका लागि सोच्न सकिन्छ र त्यो आवश्यक पनि छ ।

तपाईको पार्टीबाट थुप्रै नेता तथा कार्यकर्ता विजयकुमार गच्छदारको पार्टीमा गएको आक्रोश हो कि ?
–आक्रोश के को ? छैन त्यस्तो केही छैन । हाम्रो पार्टीबाट निस्किने काम मात्र भइरहका छैन आउने काम पनि भइरहेका छन् । यसमा मेरो मात्र नोक्सान छैन, सबै दलको भइरहेका छन् भने यसमा आक्रोश के को, कुनै आक्रोश छैन । मधेशवादी दल एउटै नावमा सवार छ, डुवे भने सबै एकै साथ डुब्नेछ एक्लै चिन्ता लिएर केही हुँदैन ।


No comments:

Post a Comment