पतिले गर्भपतन गराउन दबाब दिएपछि घर छाड्न बाध्य एक महिला न्याय खोज्दै आमासंग सदरमुकाम आई पुगेकी छिन् । सप्तरीको खोक्सर प्रवाहा–७ निवासी २४ बर्षिय सकिला खातुन आमा करियाही खातुनलाई लिएर न्यायका लागि सदरमुकाम पुगेकी हुन । चार महिनाको गर्भ रहेको सकिलाले पीडाबारे गाउँमा कतै सुनुवाई नहुँदा मानव अधिकार क्षेत्रमा क्रियाशील सेतु सामुदायिक विकास तथा मानव अधिकार संरक्षण मञ्च मार्फत न्यायका लागि आएको बुधवार जिल्ला प्रहरी कार्यालयमा जाहिरी दिंदै बताईन । उनको ६२ सालमा सोही गाविसका तजमुल मियाँसंग विहे भएको थियो । घरमा पत्नी हुँदा हुँदै पनि तजमुलले प्रेम गरेर सकिलालाई कान्छी श्रीमतीको रुपमा भित्र्याएका थिए ।
तीन सन्तानका पिता तजमुलले कान्छिबाट बच्चा नहोस् भन्ने उद्देश्यका साथ गर्भ रहेको थाहा पाए लगत्तै जर्वजस्ती औषधी खुवाएर गर्भ खसाउने प्रयास पीडित सकिलाकी आमा करियाहीको भनाई छ ।विहेको ८ बर्षमा तीन पटक गर्भवती भएकी सकिलाले तीनै पटक पतिले जर्वजस्ती औषधी खुवाएर गर्भ तुहाउन लगाएको बताइन । पछिल्लो पटक पनि यस्तै दवावका साथ कुट्न थालेपछि घर छोड्न बाध्य भएको र यस विषयलाई लिएर गाउँमा पटक पटक पंचायती बस्दा पनि पतिको व्यवहारमा कुनै परिवर्तन नआएको उनको दुखेसो छ । गाउँमा बसेको पंचायतीले पनि तजमुलबाट तीन लाख पचास हजार रुपैया, १ तोला सुन क्षतिपूर्ति दिएर सकिलाले तलाक लिनुका साथै गर्भपतन गर्नुपर्ने निर्णय गरिदिएको प्रति लिपी देखाउँदै उनले सुनाईन । उनी ५ दिनदेखि माइतमै छिन् । यता तजमुलले भने सकिलाको व्यवहार र आचरण विग्रेको कारण ५ महिना अगावै तलाक दिई सकेको र उनको गर्भमा रहेको बच्चा बारे आफूलाई केही थाहा नभएको बताए । सुरुमा राम्रै व्यवहार गरेपनि पछि आएर निकै तनाव दिन थालेको भन्दै तजमुलले आफूलाई समेत कहिलेकाही कुट्ने गरेको बताए ।
-शुभ नारायण यादब

No comments:
Post a Comment