पार्टीको बैठक भयो भने काठमाडौं जान्छु र फर्किहाल्छु । धेरै दिन बस्न पनि खर्च धान्नै गाह्रो छ । बढी समय जिल्लातिर नै बित्ने गरेको छ’ सक्रियता किन घटाएको भन्ने प्रश्नमा शितल झाले भने-’सल्लाहकारमा राखेका छन् । तर, सल्लाह मागेको पनि देखिँदैन । दिइहाले पनि कसले सुन्नेहैन यस्तै छ ।’ एमाले नेताहरुले यसपालि सबैभन्दा ठूलो पार्टी हुन्छौं भने पनि मधेसमा एमालेप्रति असन्तुष्टि बढ्दो रहेको उनले बताए । ‘मधेसमा एमालेसँग मतदाताहरु सन्तुष्ट भने छैन । बौद्धिक प्रभाव पनि देखिएन ।’ किन एमालेप्रति मतदाता असन्तुष्ट भए त भन्ने प्रश्नमा उनले भने-’मधेसको मौलिक मागमा एमालेको अग्रगामी भूमिका रहेन । कसैको पछि लाग्ने, अरुले निर्णय गरेपछि सहभागि हुने अवस्था रहृयो । नागरिकता, संघीयता लगायतका मुद्दामा, सांस्कृतिक भेषभुषाको मामिलामा पनि एमालेले आफ्नो छवि पछाडी परेको छ । यसले गर्दा पनि एमाले वर्गीय पार्टी हो, जनताको हित गर्ने हो र गरीवको कल्याण गर्ने पार्टी हो भन्ने रुपमा त छ, तर, मधेसको नागरिकको माग छ, त्यसप्रति एमालेको धारणा अग्रगामी रहेन भन्ने छ ।’ पछिल्लो पटक प्रमुख चार दलबीच ११ बुँदे राजनीतिक सहमति हुँदा पनि यस्तै देखिएको झाको बुझाइ छ ।
एमालेले मधेसको माग सुन्नै नचाहेको कि तपाईहरु जस्ता एमालेका मधेसी नेताहरुले नेतृत्वलाई सहमत गराउन नसकेको भन्ने प्रश्नमा उनले दुबै भएको बताए । ‘हामीले कन्भिन्स गर्न पनि सकेनौं र उहाँहरु कन्भिन्स नहुने पनि रहेछ’ एमाले नेता झाले भने-’अर्को कुरा जो मधेसको नेता एमालेमा अल्पसंख्यक हुन्छन् र स्वयंम आफ्नो पद जोगाउनमै व्यस्त हुन्छन् । चाकरीको प्रवृत्ति बढ्दो छ । जनताको कुरा राख्ने त सोचाइ नै छैन ।’ जनताको कुरा राख्न थालेपछि पार्टी छोड्नु पर्ने अवस्था आउने तितो सत्य उनले सुनाए ।
‘संघीयता मूख्य मुद्दा हो, यसलाई उठायो कि जातिवादीको आरोप लाग्न थालिहाल्छ । पार्टीभित्र नै गिज्याउन थालिन्छ’ उनले भने । उसो भए एमाले नेतृत्व मधेसप्रति पूर्वाग्रही नै हो त ? झाले भन्नुभयो- ‘त्यही भन्न त म सक्दिँन । मधेसप्रति पूर्वाग्रही नै भएको भए त अवस्था निकै गाह्रो हुन्थ्यो, पूर्वाग्रही छैन । तर, अग्रगामी भूमिका छैन । मधेसकै जनताले माग राखेर सम्झाइदिएको बेला नबुझ्ने । तर आन्दोलन चर्किसकेपछि, भडि्कसकेपछि र अरु पार्टीले मानिसकेपछि बल्ल घिसारिएर जाने मनस्थितिमा एमाले हुन्छ । त्यतिबेलासम्म एमालेबारे गलत सन्देश गइसकेको हुन्छ ।’
रामचन्द्र झाले पार्टी छाडे, उनले एमालेले ढाड भाँचे भनेका छन् । सर्लाहीका पूर्वजिल्ला सचिव पनि एमाओवादी गए । अब एमाले मधेसमा झन कमजोर भएको हो ? भन्ने प्रश्नमा झा चुनावी परिणामको अड्कल अहिले नै गर्न राम्रो नहुने भन्दै पन्छिने खोजे । रामचन्द्र झाको एमाले परित्यागको प्रभाव झा र एमाले अध्यक्ष दुबैले भनेको जस्तो नहुने उनको विश्लेषण छ । ‘अध्यक्षले भनेजस्तो एमालेबाट एकलोटा पानी निकालेजस्तो पनि नहोला । तर, रामचन्द्रले मैले मधेसको ढाड बाँचिदिएँ भने जस्तो पनि नहोला’ उनले भने-’समग्र मधेसमा रामचन्द्र झाको प्रभाव छैन । भए धनुषाको १ नम्बर क्षेत्रमा राम्रो छ, १ नम्बर जति प्रभावित छ, धनुषा जिल्ला कम प्रभावित छ र अरु जिल्लामा त उहाँको विरुद्धमै वातावरण बनेको छ ।’ उनले थपे-’एमाले पोलिटव्यूरो सदस्य झा एमाओवादीमा जाँदा सँगै पोलिटब्यूरो, केन्द्रीय सदस्य, अञ्चल कमिटीबाट को गए त ? क्षेत्रीय कमिटीका को गए भन्दा केही गएनन् ।’ यद्यपि झाको एमाओवादी प्रवेशले तत्कालीन असर भने देखिएको उनले स्वीकार गरे ।
onlinekhabr

No comments:
Post a Comment