Pages

Friday, May 24, 2013

मधेसी एकता किन हुँदैन ?

 जीतेन्द्र देव

संविधानसभाको चुनावमा मधेसवादी दलहरू एक भएर चुनाव लड्नुपर्छ भन्ने आम धारणा र चाहना छ । यो चाहना मधेस वा तराई वा थरुहटको मात्र नभएर पहिचानसहितको शक्तिशाली संघीय संरचनाको पक्षमा रहेका हिमाल, पहाड सबै क्षेत्र र जाति-समुदायको चाहना हो । यी सबै समुदायका जनताको चिन्ता के छ भने सबै मधेसवादी दलहरू एक भएर चुनावमा गएनन् भने परिणाम राम्रो आउँदैन र यदि अर्को संविधानसभामा यी दलहरूको प्रतिनिधित्व राम्रो भएन भने सार्थक संघीय संविधान

बन्दैन । बनिहाले पनि त्यो २०४७ सालको संविधानको निरन्तरता वा सामान्य पुनःलेखनमात्र हुन्छ । यो कटु यथार्थ र आम नेपाली जनतामाझ सिर्जित चिन्ता, त्रास र चाहनाबीच मधेसवादी दलका नेताहरू आगामी चुनावमा जनताबीच कसरी प्रस्तुत हुने यो एउटा यक्षप्रश्न र गम्भीर चुनौती सामुन्ने खडा छ । यसलाई सामना गर्न मधेसवादी दलका नेताहरूसामु केही सम्भावनाहरू छन्, जसलाई उनीहरूले अधिकतम सदुपयोग गर्न सक्छन् ।

पहिलो सम्भावना हो- मिल्न सक्ने आधार भएका मधेसवादी पार्टीहरूबीच एकीकरण गर्ने । कुनै पनि दुई पार्टीबीच एकीकरणको आधार भनेको सिद्धान्त र विचार, नीति र कार्यक्रम, संगठनात्मक सिद्धान्त र पद्धति, व्यवहार र कार्यशैली आदिमा एकरूपता हुन् । इमानदार भएर भन्ने हो भने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र सामेल रहेका घटक दलहरू र मधेसी जनअधिकार फोरम, नेपालसम्मलाई एक ठाउँमा राखेर तुलना गर्ने हो भने यी पार्टीहरू एउटा सिङ्गो पार्टीमा एकीकृत हुनसक्ने सम्पूर्ण आधारहरू विद्यमान छन् । तर दुःखको कुरा के हो भने ६ वटा चुल्होहरू बलिरहेका छन् । यो फुट र अलग्याइको कुनै आधारभूत सैद्धान्तिक, राजनीतिक वा नीतिगत कारण छैनन् । फगत केही छ भने त्यो नम्बर एकहरूको व्यक्तित्व र अहम्को टक्कर हो । एकअर्कालाई नकार वा

अमान्य गर्ने चिन्तन, अडान र प्रवृत्ति हो । यस्तो अवस्थामा एकीकरणका लागि इमानदार पहल हुन जरुरी छ ।

एकताको दोस्रो आधार भनेको आपसमा सहकार्य -मोर्चागत) गर्दै अर्को संविधानसभा चुनावमा साझा घोषणापत्र र साझा उम्मेदवार लिएर जनताबीच जाने । यो पनि एकताको दोस्रो रूप हो । आम जनताले त्यसलाई स्वागत र समर्थन नै गर्छन् । आगामी संविधानसभा चुनाव एउटा महाभारत नै हो । त्यो पहिचानसहितको शक्तिशाली संघीयता पक्षधर पाण्डवहरू र पहिचानविनाको नक्कली संघीयता चाहने कौरवहरूबीच तरवार युद्धदेखि तीरयुद्ध र तीरयुद्धदेखि गदायुद्धसम्म हुने र त्यो निर्मम तर निणर्ायक युद्धमा जित भने नेपाली पाण्डवहरूकै हुनेछ । इतिहासले निर्दिष्ट गरेको यस्तो ऐतिहासिक संविधानसभारूपी महाभारतमा मधेसवादी दलहरू साझा घोषणापत्र र साझा उम्मेदवार बनाउन सकेनन् भने जनताले नेताहरूलाई धिक्कार्नेछन् । तसर्थ सबै मधेसवादी दलहरू एकीकृत हुन नसके पनि मोर्चागत सहकार्य गरेर साझा घोषणापत्र र उम्मेदवार लिएर जनताबीच पुग्नसके पनि जनताले स्वागत र समर्थन नै गर्नेछन् ।

मधेसवादी दलहरूबीच एकता र सहकार्यको तेस्रो विकल्प भनेको अर्को संविधानसभाको चुनावमा कमसेकम सिट तालमेल गरेर जनताबीच जानु हो । गत संविधानसभामा पनि आम शुभेच्छुक र समर्थकहरूको चाहना विपरीत सिट तालमेल हुन नसकेर २० देखि २५ सिट प्रत्यक्षतिर मधेसवादी दलहरू गुमाएकै हुन् । यसपाली पनि विगतको गल्ती दोहोरियो भने जनताले आक्रोश प्रकट गर्न सक्छन् । तसर्थ मधेसवादी दलहरू आपसमा बसेर सम्पूर्ण निर्वाचन क्षेत्रहरूको ठोस विश्लेषण गरेर, ती क्षेत्रहरूमा कसको के स्थिति छ, त्यसको विश्लेषण गर्नुपर्छ । पार्टीको प्रभाव र उम्मेदवारको छवि विश्लेषण गरेर सिटहरूमा तालमेल गर्न सकियो भने मधेसवाद र सामाजिक रूपान्तरणका लागि त्यो अत्यन्त प्रशंसनीय कार्य हुनेछ । सिट तालमेलसम्म नगरेर भोट

माग्न जानु भनेको पहिलो गाँसमा झिंगा पर्नुजस्तै हुनेछ, परिणाम त पछि देखिएला नै ।

एकता र सहकार्यको माथिल्ला तीनवटै मोडलमा मधेसवादी दलहरूबीच सहमति हुनसकेन र दुर्भाग्यले पार्टीहरू एक्ला-एक्लै भोट माग्न जनताबीच जानुपर्ने स्थिति बन्यो भने के हुने ? त्यस्तो अवस्थामा मधेसवादी मतदाताहरूले के गर्ने ? त्यस्तो अरुचिकर परिस्थितिमा मधेसवादी इमानदार मतदाताहरूले नेताहरूलाई सरापे वा गाली गर्नुपरे पनि मधेसवादी धर्म छोड्नुहुन्न । त्यस्तो स्थितिमा ठोस परिस्थितिको ठोस विश्लेषण गरी कुन मधेसवादी दलको उम्मेदवारले जितिरहेको स्थिति छ, त्यसैलाई सबैले सहयोग गरी नक्कली संघीयतावादी कौरव उम्मेदवारलाई हराइदिनुपर्छ । यो नै मधेसवादी जनताले गर्नुपर्ने अन्तिम तर सही फैसला हुन्छ ।

कहिलेकाहीँ सभा, समारोहहरूमा जाँदा, साथीहरूबीच चिन्तन-मन्थन हुँदा वा बहस-विवाद हुँदा प्रश्न उठ्ने गरेको छ- मधेसवादीहरूबीच सबै कुराहरूमा समान धारणा, विचार र अडान रहे पनि यिनीहरूबीच पार्टी एकीकरण किन हुँदैन ? अहिलेसम्म अनुत्तरित रहेको यो प्रश्नले हरदम हामीलाई ललकार्छ । आखिर एकता वा एकीकरण हुन नसक्ने कारण के ? अब समय आइसक्यो, यसको ठोस निष्कर्ष आउनैपर्छ । एकता वा एकीकरण हुन नसक्नु पछाडिको यो पंक्तिकारको निष्कर्ष भने यस्तो छ ःपहिलो, मधेसमा अहिले पार्टी बनिसकेको छैन । पार्टी बन्ने प्रक्रियामा छ । दोस्रो, मधेसभित्रको चरम जातिवाद । तेस्रो, मधेसवादी नेताहरूमा आत्मकेन्दि्रत (आफूलाई अगाडि राखेर सोच्ने) चिन्तन र व्यक्तिवादी कार्यशैली र कार्यप्रणाली, सामूहिक चिन्तन र कार्यप्रणालीको अभाव । चौथो, कोर केन्द्रीय नेतृत्वमा शक्ति-सेयर गर्नै नचाहने स्वभाव ।

पाँचौं, कोर केन्द्रीय नेतृत्वमा अवसर-सेयर नगर्ने वाणी । छैठौँ, मुद्दाभन्दा पनि मुद्राप्रेम । सातौँ, आमरूपमा न्यून राजनीतिक संस्कार ।

यी गम्भीर विषयहरूमा नेतृत्व पंक्तिको ध्यानमात्रै पुग्न सक्यो भने र तदनुकूल आफूमा शुद्धीकरण र रूपान्तरण सुरु भयो भने त्यसले मधेसवादलाई बलियो बनाउने काम गर्छ । मलाई पूर्ण विश्वास छ, एउटा समय आउनेछ, जब मधेसवादी आन्दोलनबाट यस्ता विकृति र विसंगतिहरू समाप्त हुनेछन् ।
ekantipur


No comments:

Post a Comment